कोरोनाका कारण नेपालमा थप २ जनाको मृत्यु

काठमाडौँ – नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो ।

गोरखा पालुङटार –७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको हो । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा शुक्रबार पोजेटिभ देखिएको थियो ।

उनी मधुमेहका दीर्घरोगी रहेको भएको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो । यस्तै रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

क्षयरोगका विरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको असार १८ गते मृत्यु भएको हो । असार १८ गते मात्रै कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।