बार्सिलोना शीर्ष हुनबाट चुक्यो

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको मेड्रिडसँग बराबरीमा रोकिएपछि बार्सिलोनाको उपाधि यात्रामा धक्का लागेको छ साथै शीर्ष स्थानमा फर्किने मौकासमेत गुमाएको छ । स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा एट्लेटिको मेड्रिडसँग २–२ गोलको बराबरीमा रोकिएपछि बार्सिलोनाको उपाधि होडमा धक्का लागेको हो ।

खेलमा बार्सिलोनाले दुई पटकको अग्रतालाई जोगाउन सकेन । खेलको ११ औं मिनेटमा नै बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । लियोनल मेसीको प्रहारलाई एट्लेटिकोको डिएगो कोस्टाले आफ्नै पोष्टमा गोल गरेपछि बार्सिलोनाले उपहार गोल पाएको थियो ।

तर, उक्त अग्रता भने धेरैबेर टिक्न सकेन । खेलको १९ औं मिनेटमा एट्लेटिकोले खेल बराबरी गर्न सफल भयो । अर्टुरो भिडालले यानिक काराक्कोलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई साउल निगुएलले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा एट्लेटिकोका फिलिपले नेल्सन सेमेडोलाई डिबक्समा लडाएपछि बार्सिलोनाले पनि पेनाल्टी पायो । जसलाई मेसीले सहजै गोल गर्दै करियरको सात सयौं गोल पूरा गरे । तर, ६२ औं मिनेटमा एट्लेटिकोले पनि पेनाल्टी मार्फत नै खेल बराबरी गर्न सफल भयो ।

सेमेडोले पेनाल्टी क्षेत्रमा करास्कोलाई लडाएपछि रेफ्रिले पेनाल्टी दिए । जसलाई साउलले नै गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलपछि बार्सिलोनाको ३३ खेलबाट ७० अंक भएको छ भने एट्लेटिकोको ३२ खेलमा ५९ अंक छ । रियलभन्दा एक खेल बढी खेलेर पनि बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ ।

यदि अब रियलले आफ्नो ३३औ खेल जितेमा बार्सिलोनालाई स्पष्ट ४ अंकले पछि पार्नेछ ।