भावना नबुझी कुप्रचार गरियो : एन्फा अध्यक्ष शेर्पा (विज्ञप्तिसहित)

काठमाडौँ –अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूविरुद्ध कुप्रचार गर्न विरोधीहरु लागेको भन्दै तथ्य बुझेर मात्र टिप्पणी गर्न आग्रह गरेका छन् । एक अनलाइनमा दिएको अन्तर्वार्तालाई लिएर काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघ विरोधमा उत्रिएको विषयमा आफ्ना धारणा स्पष्ट पार्दै शेर्पाले अन्तर्वार्ताको मर्म बुझ्न आग्रह गरेका हुन् ।

आज एक विज्ञप्ति जारी गरी अध्यक्ष शेर्पाले अन्तर्वार्तामा दिएका विषयवस्तु कुनै भाषा, वर्ग, लिंग, धर्म तथा सम्प्रदायका नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने नभएको र कदापि नहुने उल्लेख गरेका छन् । ‘सबै जाति, भाषा, धर्म, लिंग, वर्ग तथा सम्प्रदायका नेपालीको राष्ट्रियता र राष्ट्रप्रेमको भावनाको प्रारुपमा नेपाली फुटबल खेलको सानै भए पनि हिस्सेदारी रहोस् भन्ने मेरो मनाकांक्षा मात्र हो । राष्ट्र, राष्ट्रियताबारे एन्फा र ममा कुनै सन्देश भ्रम छैन ।’

दुई दशकदेखि फुटबल खेलको विकासमा आफू प्रतिबद्ध भएर लागेको भन्दै शेर्पाले आफूले दिएको अन्तर्वार्ताका क्रममा खेल भावनाबाहेक कुनै मनसाय राखेर वा कुनै क्षेत्र प्रदेश भूगोललाई होच्याउने वा नकारात्मक सन्देश प्रवाह गर्न नखोजेको बताएका छन् ।

शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘मैले अन्तर्वार्ता कुनै सम्प्रदाय वर्ग, जाति, लिंग, भाषाभाषी, प्रदेश र भूगोलप्रति लक्षित नगरेको र नभएको स्पष्ट पार्न चाहन्छु । मेरा भनाइलाई तोडमोड गरी फुटबलप्रति वितृष्णा उत्पन्न गराउने मनसायबाट प्रेरित तत्वले एन्फा र यसको नेतृत्वको छवि धुमिल्याउने र हुँदै आएको फुटबलको विकासको गतिमा अवरोध पुर्याउने योजना मुताबिक आएको बुझ्न अनुरोध गर्दछु ।’

अध्यक्ष शेर्पाले विज्ञप्तिमा तराईको सीमामा रक्षार्थ बसेका अनेकन संघर्षको मोर्चामा रहेका तराईबासी सबै दिदीबहिनी दाजुभाइप्रति सदा कृतज्ञ रहेको उल्लेख गरेका छन् ।

एन्फाले तराईमा विभिन्न जिल्लाहरुमा ग्रासरुट लगायत फिफाबाट प्राप्त प्रमुख योजना मध्येको एन्फा गल्र्स एकेडेमी निर्माण सम्पन्न गरिसकेको र अन्य कार्यक्रम पनि लागु गर्न समग्र नेतृत्व दृढ र क्रियाशिल रहेको विज्ञप्तिमा उल्लेख छ ।

एन्फा अध्यक्ष शेर्पाले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै :