ए, बी र सी डिभिजनका क्लबले ७५ हजारका दरले राहत पाउने

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा आबद्ध ए, बी र सी डिभिजन क्लबलाई ७५हजारका दरले राहत दिने भएको छ । ए डिभिजनका १४, बी डिभिजनका १२ र सी डिभिजनका १४ क्लबलाई ७५ हजारका दरले राहत दिने निर्णय भएको  हो ।

एन्फाले मोफसलदेखि फुटबलका समग्र क्षेत्रलाई राहतमा समेटेको जनाएको छ । क्लब, रेफ्री, खेलाडी लगायत मोफसलसमेतका सबैलाई पहिलो पटक कोरोनाको आहतमा राहतले समेटेको एन्फाको भनाइ छ ।

एन्फाले एन्फाबाट स्वीकृति लिएर मोफसलमा फुटबल आयोजना गर्ने आयोजक क्लबलाई पनि ७५ हजारका दरले राहत दिने भएको छ । यसबाहेक एन्फाले ४८ जिल्लाका फुटबल संघलाई प्रतिजिल्ला ७५ हजार प्रदान गर्ने भएको छ । साथै ४ सदस्य समितिलाई पनि ७५ हजार प्रदान गरिने एन्फाको भनाइ छ ।

एन्फाले मोफसलमा सञ्चालन हुने फुटबल प्रतियोगिताको आयोजक क्लबहरुलाई एन्फामा आबद्ध सबै तहका एन्फाका प्रशिक्षक तथा कर्मचारीहरु, सहिद स्मारक ए डिभिजन लिग सञ्चालन गर्ने रेफ्री र रेफ्री एसेशरहरु ३० जनालाई राहत वितरण गर्ने भएको छ । उनीहरुलाई १० हजारका दरले राहत दिइने एन्फाले जनाएको छ ।

त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टोलीका ३५ र पुरुष फुटबल टोलीका ३५ जनालाई १५ हजारका दरले खुराक खर्च प्रदान गर्ने भएको छ । एन्फाका शनीबारिय प्रशिक्षक २४ जनाले १० हजारका दरले राहत पाउने भएका छन् । यसका साथै एन्फाका कर्मचारीहरु १५० जनालाई १० हजारका दरले राहत दिइने भएको छ ।

एन्फा कार्यसमिति बैठकले आगामी आर्थिक बर्षका लागि कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको ७० करोड ४१ लख १९ हजार ६ सय ५० रुपैयाँको एन्फाको बार्षिक बजेट पारित गर्दै अनुमोदनका आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

र, यो पनि पढ्नुहोस् :

एन्फा कार्यसमिति बैठक : थापामाथिको कारबाही अनुमोदन