शिक्षामन्त्रीले नालायकीपन देखाउनुभयो, राजीनामा दिनुपर्छ : ऐन महर (भिडियोसहित)

काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) संयोजक ऐन महरले शिक्षामन्त्रीको राजीनामा मागेका छन् । खुल्लापाटी डटकमको खुल्ला बहसमा महरले शिक्षामन्त्री गिरीराजमणि पोखरेलले नालायकीपन देखाएको भन्दै उनले यो गलत भएको बताए । उनले भने –‘यो सरकारको नालायकीपन हो । सरकार सञ्चालन गरेको भातृ सगठनको अध्यक्षको नाताले भन्छु राज्य संविधानको मर्म र भावना विपरीत गयो । सामुदायिकको स्थिति सुधार्ने भन्ने अनि निजीलाई जिम्मा दिन खोज्ने जस्तो नालायकी, बद्नियत केही हुनसक्छ ?’

बजेटको १६६ नम्बरको बुँदामा उल्लेखित सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने जिम्मा निजीलाई दिने कुरामा शिक्षामन्त्रालयको खण्डनमा आपत्ति जनाउँदै उनले भने –‘ शिक्षामन्त्रीले लाचारीपन देखाउनुभयो । उहाँले कि राजीनामा दिनुपर्छ कि माफी माग्नुपर्छ । जिम्मेवार मन्त्रीले यस्तो भन्न सुहाउँछ ?’

यद्यपि यसबारे शिक्षामन्त्रीले सोमबार विज्ञप्ति जारी गरी शिक्षा मन्त्रालयको प्रस्ताव नभएको जनाएका छन् तर घुमाउरो रुपमा समर्थन गरेका छन् ।

अनेरास्ववियुले लकडाउनका बेला विद्यार्थी भर्ना लगायतका गतिविधि नथाल्न पनि निजी विद्यालयलाई सजग गराएको छ । खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने गरेको खुल्ला बहसमा सोमबार अध्यक्ष महरसँग प्याब्सन केन्द्रीय उपाध्यक्ष टीआर ढकाल पनि सहभागी थिए ।

बहसमा ढकालले निजी विद्यालयमा आश्रित २ लाख बढी शिक्षक कर्मचारीलाई तलब खुवाउन विद्यार्थीको विकल्प नभएको भन्दै यही २२ गतेदेखि विद्यालयका प्रशासनिक कार्य थाल्ने जनाएका छन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.youtube.com/channel/UC05oGM8Ly05hJaVD05AtJ7Q