खेलकुदमा बजेट भारी मात्रामा कटौती, २ अर्ब ३६ करोड रुपैयाँं विनियोजन

काठमाडौँ –सरकारले  चालु आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा भारी कटौती गरेको छ । अर्थमन्त्री युवराज खतिवाडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँं विनियोजन गरेको जानकारी दिए । चालु आर्थिक वर्षमा मन्त्रालयका लागि ३ अर्ब ९९ करोड विनियोजना गरिएको थियो ।

सरकारले खेलकुद मार्फत मुलुकको पहिचान र प्रतिष्ठाको लागि खेलकुद क्षेत्रको समग्र बिकास अघि बढाउन संघ प्रदेश र स्थानिय तहको सहकार्यमा खेलकुद पुर्वाधारको निर्माण, प्रतियोगिता आयोजना र प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

निर्माणधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा अन्य क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसरको निर्माण एवम् अन्य प्रादेशिक रंगशाला निर्माण शुरु गर्न रकम विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय पुर्वाधार निर्माण र व्यवस्थापनका लागि बजेट छुट्याइएको छ । साथै, खेलकुद पुर्वधारको कमी भएको कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुन सक्ने गरी खेलकुद पुर्वाधार बिकास गर्न, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न र थप कभर्ड हल निर्माण गर्न बजेट व्यवस्था गरिएको छ ।