सरकारको ऐतिहासिक निर्णय, लिम्पियाधुरासहितको नक्सा जारी

काठमाडौँ – सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेको छ । सोमबार साँझ आकस्मिक रूपमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्सा जारी गरेको हो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।

आइतबरकै मन्त्रिपरिषदको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले प्रस्ताव लगेकी थिइन । नयाँ नक्सा आजैबाट प्रयोगमा आएको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नक्सा अब सबैखालको प्रशासनिक प्रयोगमा ल्याउने जानकारी दिनुभयो ।

१८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ । नेपाल आफैले पहिलो पटक लिम्पियाधुरासहितको नक्सा बनाएको हो। सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो। घोषणा गरेको ४ दिनमा सरकारले यो नयाँ नक्सा मन्त्रिपरिषदमा निर्णय गरिएको हो। भारतले १८१६ को सुगौली सन्धीको ५० वर्षपछि नक्सामार्फत अतिक्रमण गरेका थियो ।

भारतले गत कार्तिक १६ गते लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि भारतमा पारेर नक्सा जारी गरेपछि यसको विरोध हुँदै आएको थियो भने सरकारलाई संसदीय समितिहरु लिम्पियाधुरासहितको नक्सा जारी गर्न निर्देशन दिएका थिए।