थप ९ जनामा कोरोना पुष्टि, संक्रमित ३०४ पुगे

काठमाडौँ – आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३०४ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार थप नौ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा रौतहटका ७ जना पुरुष र एक महिला तथा बाराका एक जना पुरूषमा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरू रौतहट इशनाथ नगरपालिका २,३, ६ र ९ का रहेका छन्। २१ वर्षका २ जना, २३ वर्षका एक, २५ वर्षका दुइ, २९ वर्षका एक र ३० वर्षका एक पुरूष संक्रमित बनेको मन्त्रालयले जनाएको छ ।

रौतहटकै संक्रमित महिला माधवनारायण नगरपालिका ३ की २८ वर्षकी महिला हुन्। बाराका करैयामाइ ५ का संक्रमित पुरूषको उमेर ३८ वर्ष छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।