मध्यरात काठमाडौँ र भक्तपुरमा भेटिए कोरोना संक्रमित, एकै दिन ८३ जनामा संक्रमण पुष्टि

काठमाडौँ – काठमाडौँ र भक्तपुरमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मंगलबार मध्यरातसम्म एकैदिन ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार जम्मा संक्रमितको संख्या २१७ पुगेको छ ।

अधिकारीका अनुसार भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरूषमा देखिएको छ भने काठमाडौँमा ३३ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सहप्रवक्ता अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा पर्साका १२ पुरुष र ६ महिला गरी १८ जना, महोत्तरी, धनुषा र भक्तपुरमा दुई/दुई जना तथा काठमाण्डौ र सर्लाहीमा एक/एक जना गरी २६ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि मंगलबार दिउँसो पर्सामा दुई पत्रकारसहित ३९ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ जना र बाराका एक जना गरी ५७ जनामा कोरोना पुष्टि भएको थियो।