लकडाउनको नयाँ कार्ययोजना तयार

काठमाडौँ – ४० दिन यता जारी लकडाउनका कारण उकुसमुकुसको अवस्थामा पुगेका देशबासीलाई सहज गराउने गरी सरकारले नयाँ कार्ययोजना तयार गरेको छ । कोरोना भाइरस (कोभिड– १९) को नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत्र ११ गतेदेखि आह्वान गरेको लकडाउन खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले बहिर्गमन रणनीति तयार पारेको छ ।

लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लकडाउनको नयाँ कार्ययोजना तयार पारेको हो ।

लकडाउनको नयाँ रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको छ ।

कार्ययोजनामा उल्लेख भए अनुसार अब कोरोनाको पछिल्लो संक्रमित क्षेत्र स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रीन जोन), पहेँलो क्षेत्र (एलो जोनं) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरिने बताइएको छ ।

ग्रीन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुलाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ । यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ ।