कोरोना संक्रमित १० लाख उपचारपछि ठीक

काठमाडौँ – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित १० लाख व्यक्ति उपचारपछि निको भएका छन । चार महिनायता विश्व आक्रान्त पारेको कोरोनाका कारण हालसम्म विश्वमा ३२ लाख २० हजार बढी संक्रमित भैसकेका छन् ।

संक्रमितमध्ये १० ला ३५३ जना कोरोना जित्दै उपचारपछि निको भएका छन् । तर २ लाख २८ हजार २२३ जनाले ज्यान गुमाइसकेका छन् । १९ लाख ८१ हजार ६५३ जनाको उपचार भइरहेको छ । संक्रमितमध्ये ५९ हजार ८११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपेली मुलुक हुँदै अहिले सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । अमेरिकामा मात्रै कोरोनाका कारण ६१ हजार ६६८ जनाले ज्यान गुमाएका छन् भने १० लाख ६५ हजार ५३३ जना संक्रमित रहेको जनाइएको छ ।

अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, बेलायत जर्मनी, टर्की, रसिया, इरान लगायतका मुलुक प्रभावित बनेका छन् ।

छिमेकी मुलुक भारतमा पनि कोरोनाका कारण ३३ हजार बढी संक्रमित रहेका छन् भने १ हजार ७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि हालसम्म ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।