रोकिएका परीक्षा जेठ १५ भित्र सञ्चालन नभए के गर्ने ? यस्तो छ मन्त्रालयको तयारी ?

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई तथा कक्षा ११ र १२ को परीक्षा सञ्चालनबारे विभिन्न तीन विकल्प अघि सारेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आइतवार आयोजना गरेको एसईई तथा कक्षा ११ र १२ को परीक्षा व्यवस्थापन कसरी ? विषय भर्चुअल अन्तक्र्रियामा मन्त्रालयका सचिव महेश दहालले रोकिएका परीक्षा सञ्चालन सम्बन्धमा विभिन्न तीन विकल्पको तयारी गरिरहेको जानकारी दिए ।

सचिव दाहालका अनुसार तत्कालै स्थिति सामान्य भए पूर्व तयारीकै आधारमा सामान्य ढङ्गले परीक्षा सञ्चालन गर्ने मन्त्रालयको सोच छ । दोस्रो विकल्प अनुसार आधा घण्टादेखि ४५ मिनेटको दूरीमा रहेका माध्यमिक विद्यालयहरुलाई नै परीक्षा उपकेन्द्र बनाउन सकिने तर ‘होम सेन्टर’का नाममा विद्यार्थीले पढेकै विद्यालयमा नभई छिमेकी स्कूलमा परीक्षा दिने व्यवस्था गर्न सकिने उनले बताए ।

र, तेस्रो विकल्प भनेको स्थिति गम्भीर बन्दै गए र महामारी बढ्दै गए परीक्षा सञ्चालन गर्न सम्भव नहुने भएकाले विश्वमा अन्य देशले पनि अवलम्बन गर्ने गरेको विद्यमान मूल्याङ्कन र अनलाइनबाट खासखास विषयका पेपेर लिएर मूल्याङ्कन गर्ने जस्ता विभिन्न विकल्पमा जान सकिनेगरी आन्तरिक तयारीमा मन्त्रालय लागेको सचिव दहालले जानकारी दिए । यदि असारको १५ सम्मपनि यही अवस्था विद्यमान रहिरह्यो वा परीक्षा सञ्चालन गर्ने अवस्था रहेन भने भइसकेका परीक्षालाई आधारमान्ने, विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मान्ने वा अन्य विकल्पमा पनि अगाडि बढ्न सकिने उनले बताए ।

अहिले नै त्यो अवस्थामा नपुगिएको र भर्खरै नयाँ शैक्षिक सत्र शुरु हुन लागेकाले अहिल्यै आत्तिहाल्ने अवस्था नभएको उनले जिकिर गरे ।

जेठ १५ सम्म परीक्षा लिने वातावरण बन्यो भने सामान्य ढङगले नै अगाडि बढ्ने यदि जेठ १५ उता जाने अवस्था आए विकल्पहरुमा जाने तयारी भइरहेको उनले बताए ।

लकडाउन हटेको १५ दिनपछि एसईई परीक्षा सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको समेत सचिव दहालले जानकारी दिए । १५ दिनको समयपनि कतिपय विद्यालयमा क्यारेन्टाइन रहेकाले केन्द्र सार्न वा परीक्षाका लागि तयार पार्न समय चाहिने उनले स्पष्ट पारे । कतिपय विद्यार्थीहरु घरघरमा पुगेकाले उनीहरुलाई पनि समय दिनुपर्ने उनको भनाइ छ ।

उनले कक्षा ११ र १२ लाई पनि एसईईसँगै सञ्चालन गर्ने भनिएपनि सकिन्छ कि सकिँदैन भन्ने टुंगोमा पुगि नसकिएको बताए ।

सचिव दाहालले कोभिड–१९ विरुद्ध सघाउन तथा शिक्षाका विभिन्न विषयमा सुझाबका लागि गठित समितिले दिने प्रतिवेदन र विज्ञहरुबाट दिइएका विविध रायहरुका आधारमा मन्त्रालयले आउँदो एक हप्ताभित्रै निर्णय लिने जानकारी दिए । उनले कोरोनाको महामारीसँगै अरु खाले आपत्काललाई पनि सम्बोधन हुनेगरी आगामी ६ महिनाभित्र परीक्षा र पठनपाठनको मोडल परिवर्तनका निम्ति मन्त्रालयले नीतिगत निर्णयहरु गर्ने बताए ।

परीक्षा केन्द्र बढाउने, उपकेन्द्र थप्ने, सकभर घरपायक परीक्षा दिने अवस्था सिर्जनागर्ने, परीक्षा केन्द्रमा स्यानिटाइजर, मास्क, सामाजिक दुरी, साबुनपानी, गेटमै तापक्रम मापन गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको सचिव दहालले बताए ।

साउनदेखि नयाँ शैक्षिक सत्र शुरु गर्न सके वर्खे र हिउदे विदा समायोजन गरेर त्यसलाई पूर्णता दिन सकिन्छ भन्ने मन्त्रालयको सोच रहेको उनले बताए ।

छलफलमा शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले कोरोना जोखिमको अवस्थामा एसइइ र कक्षा ११ र १२ का झण्डै १५ लाख परीक्षार्थीलाई एकैपटक परीक्षा दिन न विश्व स्वास्थ्य संगठनले स्वीकृति नदिने र नेपाल सरकारले पनि अनुमति नदिने भएकाले भइसकेका परीक्षा र विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर अघि बढ्नुपर्ने सुझाव दिए ।