प्रदेश ५ ले विद्यालय कक्षा सुरु गर्ने

काठमाडौँ । प्रदेश ५ सरकारले लकडाउन अवधिमै कक्षा १ देखि ९ सम्मको नतिजा तत्काल प्रकाशन गरी अघिल्लो कक्षा पढाउने योजना बनाएको छ । शिक्षा पत्रकार समुहले आयोजना गरेको ‘कोरोना प्रभाव र शिक्षा क्षेत्रमा प्रदेश ५ सरकारको तयारी’ विषयक भर्चुअल प्रेस मिटमा बोल्दै मन्त्री बरालले विभिन्न माध्यमको प्रयोग गरी स्थानीय र केन्द्र सरकारको समन्वयमा विद्यालय तह सुचारु गर्ने योजना सुनाए ।

मन्त्री  बरालले पठनपाठनका सुचारुका लागि विभिन्न उपायमा छलफल चलिरहेको जानकारी दिए । उनले भने–‘  कक्षा ९ सम्मको बार्षिक परीक्षाको नतिजा तुरुन्त प्रकाशित गर्नका लागि स्थानीय तहलाई अनुरोध छ  । वार्षिक परीक्षाको साटो त्रैमासिक र अर्ध वार्षिक परीक्षाका आधारमा पनि नतिजा सार्वजनिक गर्ने बारे छलफल भइरहेको छ ।’

मन्त्री बरालले अनलाइन, रेडियो, टेलिभिजनबाट पहुँच पुग्नेलाई सोहीबाट र नपुग्ने विद्यार्थीका निम्ति निश्चित दूरी कायम गरी जहाँ शिक्षक छन् त्यहीँकाले पढाउने व्यवस्था गर्ने जनाएका छन् । त्यस्तै प्रदेश सरकारले लकडाउनमा बालबालिकाको सिकाइमा निरन्तरता दिन शैक्षिक एपको निर्माण गरेको छ । अब एपबाटै सिकाइ प्रक्रिया अगाडि बढाइने मन्त्री बरालले जानकार दिए ।

विद्यार्थीलाई नियमित गृहकार्य दिने र त्यसको परीक्षण गर्नेकाम पनि एपमार्फत् नै हुने मन्त्री बरालले स्पष्ट पारे । मन्त्री बरालले त्यो एपबाट विद्यार्थीलाई दैनिक गृहकार्य गराउने र शिक्षकले चेक गर्ने व्यवस्थासमेत हुने बताए । त्यस्तै प्रदेश सरकारले लकडाउनको अवधि लम्बिदै गए इन्टरनेट, रेडियो र टेलिभिजन मार्फत् कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि कुन माध्यममा बालबालिकाको पहुँचको अवस्था कस्तो छ ? भन्ने विषयमा मन्त्रालयले कार्यदल बनाई अध्ययन गरिरहको मन्त्री बरालले जानकारी दिए ।

शिक्षा पत्रकार समुहको भर्चुअल प्रेस मिटमा सामाजिक विकास मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली, प्रदेश ५ का साथै काठमाण्डौका दुई दर्जन पत्रकारहरु सहभागी थिए । पत्रकारहरुले सामाजिक विकास मन्त्री बरालसँग शिक्षा केन्द्रित जिज्ञासाका साथै सुझावहरु राखेको थिए ।

प्रदेश ५ मा सामुदायिक र संस्थागत गरी करिब ६४०० विद्यालय र १३ लाख विद्यार्थी छन् ।