मौसममा बदली : चट्याङसहित हावाहुरीको सम्भावना

काठमाडौँ – स्थानीय र पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्ला, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका जिल्लामा पानी परिरहेको छ ।

अहिले पानी परिरहेका स्थानमा दिउँसोबाट मौसम सफा रहने तर पूर्वी भेगमा हावाहुरी, चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले स्थानीय र पश्चिमी वायुको प्रभाव देखिएकाले देशका विभिन्नस्थानमा पानी परिरहेको छ । यो क्रम अब केहि दिन लम्बिने देखिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनले भने–‘ पूर्वी भागमा हावाहुरी, चट्याङसहितको वर्षा हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ ।’

सोमबारबाट पश्चिमी वायु थप सक्रिय भएकोले अब २/३ दिनसम्म बिहान र बेलुकाको समयमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।