नेपालमा कोरोना : ३१ संक्रमित, ४ जना उपचार पछि निको भएर घर फर्किए

काठमाडौँ -नेपालमा पछिल्लो १८ घण्टामा कुनै पनि कोरोना संक्रमित भेटिएका छैनन् । शनिबार साँझ उदयपुरमा १ जना ६५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

हालसम्म नेपालमा ३१ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्येका ४ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित पनि निको भएर घर फर्किएका छन् ।

गत चैत २२ गते कोरोना संक्रमण देखिएका कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक उपचारपछि निको भएर घर फर्किएका हुन् ।

उनी १६ दिनको अस्पताल बसाइ पछि आइतबार घर फर्किएका हुन् । पछिल्लो पटक गरिएको दोस्रो र तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्तपालले जानकारी दिएको छ ।

यस्तै, शनिबार मात्रै २ जना कोरोना संक्रमित बिरामी उपचार पछि निको भएर घर फर्किएका थिए ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत काठमाडौंकी १९ वर्षीया किशोरी शनिबार अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

यस्तै, बाग्लुङ ६५ वर्षीया महिला पनि उपचार पछि निको भएर शनिबार साँझ नै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

नेपालमा पहिलोपटक गत माघ ९ गते एक जनामा कोरोना संक्रमण देखिएको थियो । उनी पनि करिब २ हप्ता अस्पताल बसेपछि निको भएर घर गएका थिए ।