फरार सुचीमा रहेकी राउत पक्राउ, म्याद थपेर थुनामा राख्ने तयारी

१३ माघ, काठमाडौं
गायिका आस्था राउतलाई हिरासतमा राख्न प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।
राउतविरुद्ध परेको अभद्र व्यवहारको कसूर सम्बन्धी जाहेरीमाथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले अन्य मुद्दामा जस्तै राउत प्रकरणमा पनि कानून अनुसार प्रहरी अघि बढेको बताए ।
उनले अनलाइनखबरसँग भने, ‘अन्य घटनामा झैँ हामीले बयान लिने लगायतका कानूनी प्रक्रिया पूरा गर्नुपर्छ । त्यसैले आज म्याद थप गर्छौं ।’
अभद्र व्यवहार सम्बन्धी कसूर जिल्ला प्रशासन कार्यालयले हेर्छ । त्यसैले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमै लैजाने तयारी भइरहेको छ ।
यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।
त्यसपछि यो प्रकरण बाहिर आएको थियो । राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
सामान्य विवादमा पक्राउ पूर्जी जारी गरेको भन्दै प्रहरीको आलोचना समेत भएको थियो । त्यसपछि केही लचक बन्ने संकेत प्रहरीले दिएको थियो । सोहीअनुरुप प्रहरीले विमानस्थलमा राउतलाई पक्राउ गरेन ।
सोमबार बिहान ८ बजे अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकु पुगेर उनले आत्मसमर्पण गरिन् । त्यसपछि थप कानूनी प्रक्रिया प्रहरीले अघि बढाइरहेको छ ।