राष्ट्रिय प्रसारण लाईनले जोडिदै सोलुखुम्बु, संघिय सांसद सुरबिरद्वारा उद्घाटन हुने

अनुज खड्का
माघ ०२, सोलुखुम्बु

सोलुखुम्बु जिल्ला बिधुतको राष्ट्रीय प्रसारण लाइनले जोडिने भएको छ । जिल्लालाई पहिलो पटक नेपाल बिधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनसंग जोडिने भएको हो । यहि माघ ४ गते सोलुखुम्बुमा राष्ट्रिय प्रसारण लाईनको उद्घाटन गरिने भएको छ । सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई सुरबिरले लाईनको उद्घाटन गर्नुहुने भएको हो । सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ८ स्थित पत्तालेमा राष्ट्रिय प्रसारण लाईनको उद्घाटन कार्यक्रम हुनेछ । १ नगरपालिका सहित ८ स्थानिय तह र ५२ वटा वडा रहेको सोलुखुम्बुमा यसअघि कुनैपनी वडाहरु राष्ट्रिय प्रसारण लाईनले जोडिएका थिएनन । सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ८ नै राष्ट्रिय प्रसारण लाईनले जोडिएको पहिलो वडा हो । यो वडाबाट सिङ्गो नगरपालिका, नेचासल्यान गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका र माप्य दुधकोशी गाउँपालिका हुँदै पुरै जिल्लामा राष्ट्रिय प्रसारण लाईन बिस्तार गर्ने योजना रहेको छ । राष्ट्रिय प्रसारण लाईनले जोडिने बित्तिकै जिल्लाको बिकट बस्तीमा पनि बिधुतको पहुच पुग्ने भएको छ ।